काठमाडौं: नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवाका लागि अन्तिम गृहकार्य थालिएको छ। गृहमन्त्रालय स्रोतका अनुसार केही एसएसपीहरुको समय नपुग्दै सरुवा गर्ने तयारी थालिएको हो।
गृहमन्त्री रवि लामिछानेले नरुचाएका एसएसपीहरुको सरुवा गर्ने अन्तिम तयारी भैरहेको र केही दिनमै सरुवा हुनसक्ने स्रोतको दाबी छ। स्रोतका अनुसार प्रहरीका आइजीपी बसन्त बहादुर कुँवर आजै नेपाल फर्किने र केही दिनमा सरुवा निकालिने बताइएको छ। इन्टरपोलको एक कार्यक्रम लागि आइजीपी फ्रान्स गएका थिए।
उनी आएपछि गृहले जिल्ला प्रहरी परिसर काठमाडौंका इन्चार्ज, अपराध अनुसन्धान महाशाखा मीनभवन लगायतका इन्चार्जहरुको सरुवा गर्ने तयारी गरेको हो। हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी भुपेन्द्र खत्री इन्चार्ज छन्। त्यहाँबाट उनलाई समय नपुग्दै सरुवा गरेर यस अगाडि एसपी हुँदादेखि विवादास्पद छवि र कमजोर कमान्ड भएका वसन्त रजौरेलाई पठाउने तयारी छ।
उनीमाथि धनुषा प्रहरीको प्रमुख (एसपी) हुँदा कारबाहीमा पनि परेका थिए। यस्तै परिसरमा एसएसपी ओमबहादुर अधिकारीको पनि सम्भावना रहेको बताइन्छ।
यस्तै उपत्यका अपराध अनुसन्धान महाशाखामा हाल एसएसपी सोमेन्द्र सिंह राठौर छन् भने उनको स्थानमा सानुराम भट्टराईलाई पठाउने तयारी छ। एसएसपीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय महत्वपूर्ण युनिट मानिन्छ।
योसँगै अन्य युनिट एवं प्रदेश प्रहरी लगायतमा कार्यरत केही एसएसपीको समेत सरुवा हुने सम्भावना छ। यस अगाडिदेखि आइजीपी फ्रान्स भ्रमणमा गएकोमा इन्सपेक्टरको सरुवा र डीआइजीमा बढुवा पनि अड्किएको थियो।
अब भने केही दिनमै सरुवा बढुवा हुने जनाइएको छ।
र, यो पनि: ‘बालकोट’ले नमान्दा डीआइजी बढुवामा गृहमन्त्री असफल, आइजीपीमाथि थियो दबाब