काठमाडौं: नेपाल प्रहरीका दुई एआइजी र एक डिआइजीले हालै अवकाश पाए। एआईजीद्वय सन्दीप भण्डारी मिरा चौधरी तथा डीआईजी विकाराज खनालले उमेरहदका कारण अवकाश पाएका हुन्। अवकाशपछि रिक्त एआईजी पदमा दुई डीआईजी उमेश जोशी र भीम ढकालको बढुवा सिफारिस भइसकेको छ।
एआईजी सिफारिस भएसँगै डीआईजी बढुवाको दौडधुप सुरु भएको थियो। डीआईजीमा बढुवाका लागि एसएसपीहरू दौडधुपमा लागेका थिए।
बढुवामा एक दर्जन बढी एसएसपीहरू प्रतिस्पर्धामा रहेको बताइन्छ। जसमा सिनियर टोली (हालका प्रहरी प्रमुख आइजीपीकै ब्याचमेट) बाट कृष्णहरी शर्मा, भोला रावल, धुव्र राउत र दिल्लीराज बिष्ट लगायतका छन्। भने २०५४ सालको चैत १८ मा भर्ना भएकामध्येबाट दानबहादुर कार्की र मनोज केसी, राजन अधिकारी लगायतका एसएसपीहरु प्रतिस्पर्धामा छन्।
यस्तै शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर र उमा प्रसाद चर्तुर्वेदीसमेत प्रतिस्पर्धामा रहेको बताइन्छ।
अहिले डीआईजी हुने अधिकारी २०८२ को कात्तिकमा आईजीपीको दाबेदार हुने भएकाले पनि बढुवामा चर्को प्रतिस्पर्धा भैरहेको बुझिएको छ।
चर्को प्रतिस्पर्धाकैबीच डीआइजीमा बढुवाका लागि आइजीपी वसन्त बहादुर कुँवर र गृहमन्त्री रवि लामिछानेले कयौंपटक छलफल गरेपनी निष्कर्षमा पुग्न नसकिएको निकट स्रोतको दाबी छ। स्रोतका अनुसार हिजो (आइतबार) मात्रै गृहमन्त्री लामिछानेले डीआइजीमा बढुवाको अन्तिम तयारी गरेका थिए। तयारीमात्र होइन, लामिछानेले रातको १० बजेसम्म हेडक्वार्टरको कप्र शाखाका कर्मचारीलाई स्ट्यान्डबाई नै रहन भनेका थिए।
यस्तै लामिछानेले उता आइजीपीलाई पनि १ नम्बरमा आइजीपी ब्याचकै कृष्णहरी शर्मालाई र जुनियर टोलीका दानबहादुर कार्की र मनोज केसीलाई क्रमशः बढुवा गर्न दबाब दिएको स्रोतको भनाई छ।
तर त्यसमा आइजीपीले प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री समेतको सल्लाह लिएपछि हिजो बढुवा हुन नसकेको हो। बालकोटले गृहमन्त्रीको बढुवा सूची नमानेपछि डीआइजी बढुवा हुनै नसकेको बताइएको छ।
बालकोटबाट गृहलाई सिस्टमअनुसार नै बढुवा गर्न भनेपछि हिजो बढुवा प्रक्रिया रोकिएको बताइएको थियो। गृहमन्त्री लामिछाने यस अगाडि पनि डीएसपी बढुवामा विवादित बनेका थिए। उनीमाथि सिस्टम मिचेर बढुवा गरेको आरोप लागेको थियो।
योसँगै आइजीपी आजमात्रै फ्रान्सतर्फ प्रस्थान भएका छन्। उनी विभागीय कार्यक्रमकै लागि त्यहाँ गएकोमा डीआइजी बढुवा प्रक्रियासँगै इन्सपेक्टरको सरुवा पनि अल्झिएको छ।
र, यो पनि: पुलिसका चिफ फ्रान्सतिर, निमित्तमा राई
प्रहरीमा ३ डीआइजीका पद रिक्त, को-को छन् बढुवाको दौडमा ?