धनगढी: सुदूरपश्चिम प्रदेशका सुरक्षा निकायका प्रमुखहरुको टोली पहाडी जिल्लाको भ्रमणमा छ। अस्ति प्रदेशको राजधानी कैलालीबाट पहाडतर्फ उक्लिएको सुरक्षा निकायका प्रदेश प्रमुखहरुको टोली त्यहाँ अनुगमन एवं निरीक्षण भ्रमणमा निस्किएको थियो।
नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी रविन्द्र केसी, सशस्त्र प्रहरी बल नेपालका डीआइजी कुमार न्यौपाने र राष्ट्रिय अनुसन्धान विभागका डीआइजी इन्द्र लामासहितको संयुक्त टोली सुदूर पहाडका जिल्लाको अनुगमन भ्रमणमा गएको थियो।
प्रहरीका डीआइजी रविन्द्र केसीले आफूहरु दार्चुला, बैतडी र बझाङ हुँदै डडेल्धुरासमेतको अनुगमन गरेर फर्किरहेको जानकारी दिए। उनका अनुसार सशस्त्रका डीआइजी भने अछामतिर लागेका छन् भने राष्ट्रिय राष्ट्रिय अनुसन्धान विभागका डीआइजी पनि कैलालीको धनगढीतर्फ फर्किदै छन्।
सुदूरपश्चिम पहाडको अनुगमन भ्रमणका क्रममा आफूले जिल्ला प्रहरी कार्यालय दार्चुला, बैतडी, बझाङ र डडेल्धुराको निरीक्षण तथा सबै जिल्लामा सुरक्षा समितिका बैठकहरु बसाइएको डीआइजी केसीले बताए।
उनले संयुक्त निरीक्षण भ्रमणले सुदूरपश्चिमका पहाडी क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं प्रहरी कर्मचारीको सुदृढीकरणको लागि निर्देशन दिएको जनाए।
डीआइजी केसीसहितले मंगलबार दार्चुला, बुधबार बैतडी, बिहीबार बझाङ र शुक्रवार (आज) डडेल्धुराको अनुगमन गरेका थिए।
बझाङमा यहीँ बैशाख १५ गते प्रदेश सभा सदस्यको उपनिर्वाचन पनि हुँदै छ। सोही क्रममा डीआइजीत्रयको टोलीले त्यहाँ पुगेर सुरक्षा व्यवस्था बुझेका थिए। साथै उनीहरूले मातहत कर्मचारीलाई निर्वाचन शान्त, निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्न निर्देशन पनि दिएका थिए।
यस्तै निर्वाचनबाहेक पहाडी जिल्लामा शान्ति सुरक्षा, अपराध अनुसन्धान, अवैध चोरी निकासी पैठारी नियन्त्रण, सरकारी जग्गा दोहन, लागूऔषध ओसार पसार नियन्त्रण, वन पैदावार कटान ओसार पसार, खानी तथा नदीजन्य पदार्थहरुको उत्खनन् ओसार पसार नियन्त्रणमा जोड दिन उनीहरूले निर्देशन दिएको बुझिएको छ।
यसका अलावा प्रहरीलाई सुदृढीकरण गर्न र कसैसँग साँठगाँठ नगर्न पनि डीआइजीत्रयले सुझाएका थिए।
र, यो पनि: सुदूरपश्चिम प्रहरीका हाकिम पहाड उक्लिए, जिल्लालाई निर्देशनै निर्देशन
बझाङ पुगे सुदूरपश्चिमका डीआइजी, निष्पक्ष चुनाव गराउन निर्देशन