काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौती देखिएको बताए । तर, समाधान नै गर्न नसकिने प्रकारका कुनै चुनौती नरहेको उनले स्पष्ट पारे ।
उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानका आधारमा केही घटना हुने गरेको उल्लेख गरे । ती समस्यालाई स्थानीयस्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका उनले बताए ।
उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको सुनाए । मंगोल नेसनल अर्गनाइजेसन र पहिचानवादी बेलाबेलामा आन्दोलित हुने गरे पनि त्यो राष्ट्रिय समस्याका रूपमा नरहेको उनले स्पष्ट पारे ।
दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको तर त्यसले सुरक्षामा कुनै असर नपुर्याएको उनको भनाइ छ ।
प्रधानसेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालमा पनि केही न केही असर पारिरहेको बताए । उनले भारत र चीनबीच दक्षिण एसियाली क्षेत्रमा बढिरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा देखिएको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको उल्लेख गरे । त्यसको असर नेपालमा समेत पर्ने उनको बुझाइ छ ।
म्यानमारको आन्तरिक द्वन्द्वका कारण रोहिंग्या शरणार्थी आएर नेपालमा बसेका र तिनले सामाजिक, आर्थिक र धार्मिक समस्या निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका निम्ति छिमेकी देशहरू भारत र चीनलाई कहिल्यै चिढ्याउन नहुने बताए । उनीहरूले नचाहिँदो कुरा गरेमा त्यसको विरोध भने गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लैजानुपर्ने बताए । देशको हितका निम्ति सबैसँग वार्ता गरेर अगाडि बढ्नुपर्ने उनले उल्लेख गरे ।