काठमाडौं– गायक राजु लामाले विश्वको सबैभन्दा अग्लो स्थानमा गाएर विश्व रेकर्ड बनाएका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गर्दै विश्व रेकर्ड कायम गरेका हुन् ।
उनले सोमबार समुद्री सतहबाट ६,५७४ मिटरको उचाइमा पुगेर गीत गाएको बाएका छन् । उनका अनुसार ३,६०० मिटरभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन ।
‘यसअघि, ६,४७० मिटरमा मान्छेले गाएका रहेछन्,’ उनले भने, ‘मैले चाहिँ ६,५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ ।’ त्यहाँ पुगेर गीत गाउनुको मुख्य उद्देश्य भनेको विश्वलाई संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु रहेको उनले बताए ।
उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘हिमालले डाक्यो मलाई’ लगायत ‘मंगोलियन हार्ट’ को अन्य हिट गीतहरू पनि गाएको बताएका छन् ।