महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिएको छ ।
भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डे होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए । जापानको भिसा लागेपछि उनले मंगलबार साँझ नाइन इलेभन होटलमा पार्टी गरेका थिए ।
राति त्यही होटलको कोठामा बसेका उनी मृत फेला परेका हुन् । उनीसँगै बसेका साथी आशीष चन्द भने बिहान कोठाबाट भागेर घर पुगेको खुलेपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ चलिररहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले घटनाबारे अनुसन्धन भइरहेको छ । थप विवरण आउन बाँकी रहेको जनाए । उनका अनुसार पाण्डेको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । प्रहरी स्रोतका अनुसार कोठामा लागूऔषध प्रयोगकर्ताले प्रयोग गर्ने ६ वटा सुई भेटिएको छ ।