काठमाडौं : काठमाडौं र ललितपुरबाट सोमबार जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। काठमाडौंबाट आठ र ललितपुरबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौंको बत्तीसपुतलीमा जुवातास खेलिरहेको अवस्थामा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ४० वर्षीय उमेश सुनुवारसहित आठजना पक्राउ परेका हुन्। सुनुवारले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। एक महिलासहित ८ जनालाई नगद दुई लाख ५२ हजार ५७५ रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरिएको गौशाला प्रहरी वृतले जनाएको छ।
वृतका अनुसार पक्राउ पर्नेमा सुनुवारसहित, वङ्शराज नदाप, भुवन खड्का, मनोज कुमार शाह, अनिल भारती, रामचन्द्र केसी र लक्ष्मी पुन मगर रहेका छन्। उनीहरूमध्ये खड्का सशस्त्र प्रहरीका इन्सपेक्टर हुन्।
यस्तै, ललितपुर महानगरपालिका–२५, फूलबारीमार्गस्थित सुर्खेती सेकुवा कर्नर होटेलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ घर भई ललितपुरको भैँसेपाटीमा बस्दै आएका ३० वर्षीय श्याम तामाङसहित ६ जना छन्।