काठमाडौं : अमेरिकी दूतावासले प्रेस स्वतन्त्रता सुनिश्चित गर्नेबारे सरकार र जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा रहेको जनाएको छ।
बुधबार दूतावासले सामाजिक सञ्जालमा यो टिप्पणी गरेको हो।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको पृष्ठभूमिमा अमेरिकी दूतावासको यो अर्थपूर्ण भनाइ आएको हो।
उसले अमेरिकाका लागि प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू रहेको जनाएको छ।
‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्। कठिन संघर्ष पश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौं,’ दूतावासले जारी गरेको नोटमा भनिएको छ।
प्रहरीले मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार कार्यकक्षबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी उनलाई धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुर्याइएको हो।
जिल्ला अदालत धनुषाले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।