धनगढी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रमेश लेखकलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेका छन्। देउवाले लेखकलाई मनोनीत गरेपछि पार्टीमा तरंग पैदा भएको छ।
पार्टी सभापति देउवाले लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेपछि केन्द्रीय सदस्य एनपी साउद रुष्ट भएको बताइएको छ।
लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन्। कांग्रेसको विधानमा पदाधिकारी र प्रतिनिधि सभा तथा राष्ट्रिय सभा दलको नेता पदेन सदस्य हुने व्यवस्था छ। सभापतिले केन्द्रीय समितिमा रहेका वरिष्ठ सदस्यहरूमध्ये ३१ लाई कार्यसम्पादन समिति सदस्यमा मनोनयन गर्ने र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने भन्ने परम्परा रहेको थियो।
जसमा १३ जना पदाधिकारी छन्। त्यसपछि ३१ जनालाई बनाउँदा वरियतामा ४४ नम्बरसम्म रहेका नेताहरू कार्यसम्पादन समितिमा पर्नुपर्ने हो। तर, देउवाले बीचका नेताहरूलाई छोडेर एकैटक केन्द्रीय कार्यसमितिको वरियताक्रममा ६४ औँ नम्बरमा रहेका लेखकलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेका छन्। देउवाले लेखकलाई मनोनित गरेरे बुधबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदनसमेत गराएर भ्याएका छन्।
तल्लो वरियताका लेखकलाई कार्यसम्पादन समिति सदस्य बनाएपछि एनपीसहितका नेताहरु रुष्ट भएको बताइन्छ।
कांग्रेसमा सभापति देउवाको उत्तराधिकारी दाबी गर्ने सुदूरपश्चिममा हाल दुई नेता हुन्। एक, एनपी हुन् भने अर्का रमेश लेखक।
तर, अहिले भने एनपी रक्षात्मक बन्दै गएको र लेखक बलियो बनिरहेको पार्टी निकटस्थको दाबी छ। एनपी देउवालाई छोडेर अर्को गुटमा लागेको भन्दै चर्चासमेत हुने गरेको छ। सोही क्रममा लेखक भने देउवाको विश्वासपात्र बन्दै गएका छन्। देउवाले एनपी किनारा लागेपछि सुदूरपश्चिममा आफ्नो उत्तराधिकारी बनाउन लेखकलाई कार्यसम्पादन समितिमा ल्याएर बाटो खुला गरेको हुनसक्ने केही नेताहरुको बुझाई छ।