धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीले दार्चुलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
व्याँस गाउँपालिकाको सहयोगमा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत २३ गते वडा नम्बर ४ सुन्सेरामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, नसासम्बन्धी समस्या, दन्त रोग, स्त्रीरोग, रक्तचाप र मधुमेह जस्ता रोगहरूको निःशुल्क जाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो।
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका निमित्त कार्यालय प्रमुख प्रा. प्रहरी नायव उपरीक्षक डा. नविन लागेजुको कमाण्डमा शाखा अस्पताल धनगढीबाट खटिएको चिकित्सक टोलीले उक्त सेवा प्रदान गरेका थिए।
शिबिरमा सर्वसाधारण पुरुष १५२ जना र महिलाहरू २४७ जना गरी जम्मा ३९९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।
यस कार्यक्रमको मुख्य उद्देश्य दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउनु थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा स्थानीयहरूले खुसी व्यक्त गरेका छन्।