धनगढी : बझाङ बाट एक सुत्केरीको उद्धार गरिएको छ। बित्थडचिर गाउँपालिका ६ की २१ वर्षीया बसन्ती धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ ।
जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् ।
पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ । यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको र रक्तस्राव पनि भए पछि उपचारको लागी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको उद्धार गरिएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को हाल सम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बझाङबाट ६ जना सुत्केरी वा गर्भवती महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।