दार्चुला – यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि दार्चुलामा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताए ।मतदानस्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्’, उनले भने, ‘त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ।’उनले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने जानकारी दिए ।
निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौवटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।
प्रजिअ उपाध्यायका अनुसार दार्चुलाका नौवटै पालिकामा गरेर दुई हजार ५सय देखि तीन हजारको हाराहारीमा सुरक्षाकर्मी निर्वाचनमा खटिने छन् । प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखले जिल्लाका सबै मतदान स्थलहरुको अनुगमन निरीक्षण गरिसेको जनाएको छ । त्यसैगरी निर्वाचनको ४८ घण्टाअघि नेपाल–भारत सीमा बन्द गर्न भारतीय पक्षसँग समन्वय गरिसकेको छ ।
नेपाल तिरको प्रशासनले भारतीय एसडिएमलाई हिजो विहिबार नै एक सुचना दिदै अगामी मंगलबार अर्थात २७ गते बेलुकी ७ बजे देखि शुक्रबार बेलुकी ७ बजे सम्म सिमानाका बन्द गर्न पत्राचार गरिएको प्रजिअ उपाध्यायले जानकारी दिनु भएको छ । भारतीय पक्षबाट पनि नेपालको स्थानीय तहको निर्वाचनका बेला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नमा सहयोग रहने जनाएको छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि दार्चुलामा १३९ मतादान केन्द्र तोकेको छ । जिल्लामा मतदाताको कूल सङ्ख्या ८८ हजार भन्दा माथि रहेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम समेत दिइरहेको छ । त्यसैगरी दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आर्चायले यहाँ आएको मतपत्रहरु मिलाउने काम भइरहेको बताए ।
मतदान अधिकृत पनि जिल्लाभरि खटाउने गृहकार्य भइरहेको छ । निर्वाचन सम्पन्न गर्न यहाँको महाकाली नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनम रहेका छन् । नौ वटा स्थानीय तह र ६१ वडा रहेको दार्चुलामा ३२३ पदको लागि ७७२ जनाको उम्मेदवारी दर्ता भएको छ ।