धनगढी : दार्चुलाका भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन् ।
भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई पत्र पठाएर भरतको सहभागिता निश्चित गरेको हो ।
भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् । वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।
दार्चुला अपी हिमाल गाउँपालिका-६ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन् । भरतसंग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।
भरत चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।
पेरिस पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दोमा २ खेलाडी सहभागी हुने पक्का भएको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् । चीनको ताइयानमै भएको एसियाली छनोटको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् ।
चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा पुग्ने पहिलो नेपाली पारा खेलाडी हुन् ।