मुकेश स्याडा :
विशेष उद्देश्य प्राप्तिको लागि गरिने दिगो परिवर्तनलाई अग्रगामी परिवर्तन भनिन्छ। राजनीति भनेको कुनै पनि देशमा चलेको शासन व्यवस्थालाई देश र जनताको पक्षमा हित हुने गरी राज्य सञ्चालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रक्रिया हो। तर, आजकल राजनीतिलाई व्यवसायीकरण गरिएको पाइन्छ। जनताको विकासभन्दा पनि व्यक्तिगत महत्वाकांक्षालाई प्राथमिकता दिने प्रवृत्ति देखिएको छ।
विकास भनेको केवल सडकमा टिप्पर र डोजरको प्रदर्शन, पुल बनाउनु, नाला बनाउनु, बाटो बनाउनु, र खानेपानी तथा बिजुली पुर्याउनु मात्र होइन। केही ठाउँमा त यिनै आधारभूत सुविधाका लागि पनि वर्षौ गुहार्नु पर्छ। सामाजिक रुपान्तरण र सामाजिक न्याय बिना भौतिक विकास अधुरो हुन्छ। यसले प्रगतिशील समाज निर्माण नगरी उपभोक्तावादलाई बढावा दिन्छ। जबसम्म समाजलाई समृद्ध र सभ्यताको बाटोतर्फ चेतनाको विकासमार्फत डोर्याउन सकिदैन, भौतिक विकास केवल संसारिक सुख भोगका माध्यमका रुपमा रहन्छ।
त्यसैले, सामाजिक चेतना विस्तार र एक समुदायले अर्को समुदायलाई हार्दिकताका साथ सम्मान गर्न सिकाउने संस्कृतिको विकास, जातीय अपहेलना लगायतका विभेदका पहाडहरुलाई पहिचान गरी त्यसको निराकरण गर्नु आवश्यक छ। हाम्रो राजनीतिले समाज र जनताको लागि निस्वार्थ रुपमा जबसम्म लगानी गर्न सक्दैन, तबसम्म राजनीति र समाजको सम्बन्ध टाढा नै रहन्छ। समाजको विकास भनेको आम जनताको सर्वपक्षीय विकास हो।
यहाँ मुख्यतः राजनीति नै उठाउन खोजिएको छ। कुनै पनि देशको शासन व्यवस्था जनताको हितका खातिर हुनका लागि राजनीतिले नै सबैभन्दा बढी जवाफदेही र जिम्मेवार भूमिका खेल्छ। राज्य व्यवस्था सञ्चालन गर्ने भनेकै राजनीति हो। जबसम्म राजनीति जनसेवा र जनमुखी विकासका लागि विश्वास योग्य बन्दैन, तबसम्म विकास केवल नामका लागि र देखाउनका लागि मात्र हुन्छ। जनप्रतिनिधिहरूलाई चुनावी बेला मात्र जनता र गाउँको सम्झना आउँछ।
समाजका हरेक गलत कार्यहरूमा राजनीतिक संरक्षण पाइन्छ। साँचै नै, राजनीति परिवर्तनको लागि भन्दा आफू चर्चित हुने माध्यम मात्र जस्तो भएको छ। अन्त्यमा, राजनीति, समाज, र विकास बीचको असल सम्बन्धले नै त्यो समाज र जनताको भविष्यको निर्धारण गर्छ। त्यसैले राजनीतिलाई जनसेवा र विकासलाई समाज रुपान्तरणको महत्वपूर्ण विषयका रुपमा लिएर अगाडि बढ्न सकिन्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो।
लेखक अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् ।