धनगढीः कैलालीको धनगढीबाट नगदसहित पक्राउ परेका सात जना जुवाडेमा पूर्व जनप्रतिनिधिदेखि प्रहरीसम्म परेको पाइएको छ। हिजो (शनिबार) धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुमा पूर्व वडाध्यक्षदेखि प्रहरीका पूर्व सईसहित व्यापारीहरु परेका हुन्।
प्रहरीले हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा गजुरेलसहित सात जनालाइ समातेको थियो।उनीहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी ताससहित समातेको थियो।
यसरी समातिनेमा धनगढी वडानम्बर ३ का पूर्व वडाध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता बलबहादुर ऐर, नेपाल प्रहरीका पूर्व सई एवं हाल भन्सार एजेन्टको रुपमा कार्यरत मोहनसिंह धामी र व्यापारीहरु कैलाश गुरुङ, धनशेर बिष्ट, बिष्णु लामा र विजय नाथ रहेका छन्।
उनीहरुलाई अहिले थुनामा राखेर थप अनुसन्धान भैरहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।