धनगढी : अछामकोको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी बलात्कार घटनामा संलग्नलाई कारबाही गर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले माग गरेका छन् ।
आज प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक विज्ञप्ति बुझाउँदै प्रदेशका दुई सांसदले घटना प्रति सरकारको ध्यानाकर्षण गराउँदै पिडकलाई कारबाहीको माग गरेका हुन् ।
एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापा र राप्रपा सांसद खेमा विष्टले उपसचिव कृष्ण नेपाललाई ज्ञापन पत्र बुझाउँदै घटनाको विषयमा ध्यानाकर्षण गराएकी हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री दीर्घ सोडारीलाई आन्तरिक मामिला मन्त्रालयमार्फत नै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको एमाले संसदीय दल उपनेता थापाले जानकारी दिइन् ।
‘पञ्चदेवल विनायक नगरपालिकामा १६ बर्षिया किशोरीमाथि छाउगोठमा भएको बलात्कारको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता घटना फेरि नदोहरिन भनी सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पीडकलाई हदै सम्मको कारबाहीको माग गर्दछौँ’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।