काठमाडौं : राष्ट्रिय पुरुष टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमतीले राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् ।
श्रीलंकामा जुलाई १९ देखि २८ सम्म हुने एसिया कपको लागि घोषणा भएको इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीमा राजमतीले स्थान बनाएकी हुन ।
नेपाल क्रिकेट संघ (क्यान) ले अर्काे महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने टोलीको बुधबार घोषणा गरेको हो ।
घरेलु प्रतियोगिता शसस्त्र प्रहरी बल (एपिएफ) बाट खेलिरहेकी युवा अलराउन्डर राजमती ऐरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् ।
उत्कृष्ट प्रदर्शन गर्दै आएका दाइ दीपेन्द्रलाई बहिनी राजमतीले पछ्याउँदै आएकी छन् । उनले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् ।
गत पुसमा भएको प्रधानमन्त्री कपमा उनले कर्णाली प्रदेशविरुद्ध ५५ बलमा ६७ रन जोडेकी थिइन् । गत महिना भएको ललितपुर मेयर्स कपमा सुदुरपश्चिम प्रदेशविरुद्ध उनले अर्धसतक प्रहार गरेकी थिइन् ।
२२ वर्षीय राजमतीले यसअघि अन्डर १९ टीमबाट नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।