दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले महाकाली करिडोर अन्तर्गतको तिंकर सडक निर्माण कार्यलाई गति दिन आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ। गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटर लामो दार्चुला-तिंकर सडकलाई शीघ्र सम्पन्न गर्न सबै प्रदेश सरकार, स्थानीय सरकार, र सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताएको छ।
गाउँपालिकाले नेपाल सरकारको न्यून बजेट विनियोजनका कारण सडक निर्माणमा अपेक्षित प्रगति नहुनुमा चिन्ता व्यक्त गर्दै, द्रुत गतिमा काम सम्पन्न गर्नका लागि सबै तहबाट सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ सम्म तिंकर सडक निर्माणमा ४७ करोड ६८ लाख ४३ हजार रुपैयाँ खर्च भइसकेको छ भने वडा नम्बर ३ तुषरपानीदेखि वडा नम्बर २ दुम्लिङसम्म १३ किलोमिटर लामो सडकको ट्रयाक खुल्ने अवस्थामा रहेको छ।
विज्ञप्तिमा नेपाली सेनाले तयार गरेको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसार ७९ किलोमिटर लामो सडकको ट्रयाक निर्माण सम्पन्न गर्न ३ अर्ब ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। नेपाली सेनाले १० वर्षमा ट्रयाक निर्माण पूरा गर्ने लक्ष्य राखे पनि पर्याप्त बजेट विनियोजन नहुँदा यो लक्ष्य अर्को दशकसम्म लम्बिने अवस्था रहेको बताइएको छ।
व्याँस गाउँपालिकाले तिंकर सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न, द्रुत गतिमा सडक निर्माण गर्न र ५ वर्षभित्रै सडक निर्माण सम्पन्न गर्न पटक-पटक नेपाल सरकारसँग लिखित र मौखिक माग गरे पनि हालसम्म यसमा कुनै सुनुवाई नभएको जनाउँदै संघीय सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ मा मात्र ८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि स्थानीय बासिन्दामा निराशा र आक्रोश उत्पन्न भएको उल्लेख गरिएको छ।
सडक निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार, र सरोकारवालासँग आर्थिक सहयोगको अपिल गर्दै गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ मा रु ५ लाख बजेट समेत विनियोजन गरेको जनाएको छ। यसरी संकलन गरिने रकमको उपयोग दार्चुला-तिंकर सडक निर्माणमा मात्र गरिने र यसका लागि ‘दार्चुला-तिंकर सडक निर्माण कोष’ खडा गरी बैंक खाता सञ्चालन गरिएको पनि बताइएको छ।
गाउँपालिकाले देशभरिका प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालासँग आर्थिक सहयोगका लागि अपिल गर्दै सहकार्यका लागि आभार प्रकट गरेको छ।
बैंक खाता विवरण:
- खाताको नाम (नेपाली): ग ५।१ (स्थानीय तह विविध कोष खाता (दार्चुला-तिंकर सडक निर्माण कोष))
- खाताको नाम (अंग्रेजी): L5.1 (Local Level Various Fund Account (Darchula-Tinker Road Construction Fund))
- खाता नम्बर: ०९९००७६०८४८००१९७
- बैंकको नाम: माछापुछ्रे बैंक
थप जानकारीका लागि सम्पर्क:
- गाउँपालिका अध्यक्ष: मंगल सिंह धामी (९८६८७३५००५)
- गाउँपालिका उपाध्यक्ष: बिनोद सिंह कुँवर (९८४८८१३७३१)
- गाउँपालिका प्रवक्ता: उपेन्द्र सिंह धामी (९८४२२३२०५०)
- प्रशासकीय अधिकृत: चन्द्र सिंह कुँवर (९८६८८५७७३९)
- लेखापाल: गोपाल सिंह विष्ट (९८४८९९९२७०)
गाउँपालिकाले नेपाली सेना र सबै तहका सरकार तथा सरोकारवालाहरुको सहयोगमा यो परियोजनालाई शीघ्र सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।