धनगढी : सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरु गरेको छ।
सुदूरपश्चिम पतृना अत्तरिया तेघरीका अनुसार, छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी गरेका हुन्।
कञ्चनपुरका ६, कैलालीमा तीन, डडेल्धुरा र दार्चुलामा दुई/दुई र डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक/एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ।
युवा वर्गलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ।
जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ।
सेनाले दिएको जानकारी अनुसार, २०२२ सालदेखि मुलुकमा सेनाले विद्यार्थीलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ।