काठमाडौं : नेपाली सेनाले उपरथी र सहायक रथीमा एक एक जनाको बढुवा गर्न लागेको छ। सैनिक साधारण सेवातर्फ रिक्त हुन आएका ती पदमा बढुवाका लागि सिफारिस गरिएको जानकारी गराउँदै पाँच जनाको नाम सार्वजनिक गरिएको छ।
उपरथीका लागि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र दरवन्दी रही हाल अफ्रिकी मुलुक केन्यामा डिफेन्स कलेज कोर्श गर्दै रहेका सहायक रथी मधुकरसिंह कार्की सिफारिस भएका छन्। दरवार हत्याकाण्ड ताका अधिराजकुमार निराजनको एडिसीमा तैनाथ उनी त्यसपछि पूर्व राजा ज्ञानेन्द्रको अङ्गरक्षक थिए। सहायक रथीमा सुरज गुरुङ,जगदिश खड्का, अमृतकाजी गुरुङ र चुलेन्द्रबहादुर थापा सिफारिस भएका छन्।
तीमध्ये पहिलो नम्बरमा रहेका गुरुङ प्रधान सेनापतिको कार्यालयमा छन्। शान्ति कार्य निर्देशनालयका जगदिश २ नम्बरमा,शिकायत जाँच महाशाखाका अमृत र सैनिक सचिव विभागमा रहेर राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयतर्फ काजमा खटिएका चुलेन्द्र क्रमश: तेस्रो र चौथो नम्बरमा रहेको सिफारिस समितिको पत्रमा उल्लेख छ।