दार्चुला– निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले जिल्लामा चुनावी प्रचार–प्रसार अभियानलाई तीव्रता दिएका छन् । ठूला आमसभा सकेर उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त छन् । तर अपिहिमालका मतदातालाई भने त्यसको कुनै प्रवाह छैन ।
उम्मेदवारहरु भेटघाटका लागि घर–घरमा आइरहँदा स्थानीय भने यार्सागुम्बा संकलन गर्न पाटन पुगेका छन् । अपिहिमालका धेरैजसो मतदाता यार्सागुम्बा संकलन गर्न पाटन पुगेपछि उम्मेदवारलाई मत माग्न समस्या भएको छ । उम्मेदवारसँगै घर–घरमा जाँदा अधिकांश मानिसहरु नभेटिने गरेको र भेटिएका व्यक्तिसंग मत माग्ने गरेको अखिलका नेता कृष्णसिह धामीले बताए ।
कामको चटारोकाबीच निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको भेटघाट तीव्र भएको हो । ६ वटा वडा रहेको अपिहिमालमा यो पटक उम्मेदवारीमा जातीय नारा पनि लगाइन थालेको मतदाताले गुनासो गरेका छन् ।
गठबन्धनले अध्यक्ष र उपाध्यक्षका उम्मेदवारी दिँदा ठेकरे बोहरालाई मात्रै दिएर जातीय एकता गर्न खोजेको आरोप मतदाताको छ । नेकपा एमालेले भने गाउँपालिकामा हुने जातीय गठबन्धन भत्काएर आफ्नो पक्षमा मत तान्ने अभियानमा रहेको पाइएको छ ।