काठमाडौं: काठमाडौं जिल्ला अदालतभित्र एक वकिल र पुलिसबीच हानाहान भएको छ। अधिवक्ता लक्ष्मीनानी थापा र एक प्रहरी जवानको आपसमा हानाहान भएको हो।
त्यसमा पर्दा वकिलको गालामा गहिरो चोट लागेको छ। उपचारपछि उनी हिजै घर फर्केकी छन्। उक्त घटनाबारे सत्यतथ्य अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन कानुन व्यवसायीहरुको माग छ।
उता उनै थापाविरुद्ध हिजै प्रहरी वृत्त सिंहदरबारमा जाहेरी परेको छ। जिल्ला अदालतको सुरक्षार्थ खटिएका प्रहरी जवान जीवन छिनालले महिलाले अभद्र व्यहार गरेकाले आवश्यक कारबाहीको निम्ति उजुरी दर्ता गराएका हुन्।
प्रहरी वृत्त सिंहदरबारमा हालिएको जाहेरीमा उनले आफू नेपाल प्रहरीको कर्मचारी रहेको र हिजो दिउँसो साढे १ बजे जिल्ला अदालतको सुरक्षार्थ ३ नम्बर गेटमा कार्यरत रहँदा उक्त घटना भएको उल्लेख गर्दै लेखेका छन्-आफूसँगै वकिलले आफ्ना क्लाइन्टलाई पनि गेटबाट लैजान खोज्नुभयो। यताबाट अरुलाई लैजान मिल्दैन भनेपछि ममाथि अपशब्द र दुर्व्यवहार भयो। मैले पनि आत्मरक्षाका लागि धकेल्दा चोट लाग्यो होला। सिसिटिभी हेरेर अपशब्द र दुर्व्यवहार गर्ने अधिवक्ता थापामाथि कारबाही गरियोस्।’