काठ्माडौं : चितवनको नारायणघाट–मुग्लिङ्ग सडकखण्डमा लेदोसहितको पहिरो खस्दा बगेको बसमा सवार केही यात्रुको विवरण सार्वजनिक भएको छ ।
गएराति ३ बजेदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा त्रिशुलीमा बगेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार दुई दर्जनमध्ये डेढ दर्जन यात्रुको विवरण प्राप्त भएको हो । तर, यात्रुको पुरा नाम र ठेगाना भने खुल्नसकेको छैन् ।
उक्त बसमा आधा दर्जन भारतीय नागरिक पनि सवार रहेको पाइएको छ । बसको साहु राजेन्द्र केसी र चालक जवाहिर महतो बेपत्ता छन् । त्यस्तै, सहचालकको पूरा विवरण खुलेको छैन् । अरबिन्द दुवे, हरिन्द्र पण्डित, प्रमानन्द जी, हृदयनारायण राउत, सालिम मिया, रैजुल आलम, कुलदिप बसमा सवार थिए ।
त्यस्तै, भारतीय नागरिकमा अन्सारी जी, सन्तोष ठाकुर, सुरेन्द्र साह, आदित मिया, सनिल सहनवाज आलम रहेका छन् । उनीहरु सबै बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ ।
गएराति पहिरो जाँदा वीरगञ्जदेखि काठमाडौं आउँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्सको बस पहिरोले बगाएको थियो । बसको झ्यालबाट नदीमा हाम्फालेर पौडी खेल्दै तीन जना जोगिएका छन् ।