धनगढी : नेपालगन्जको टाङ्गा स्टेण्ड नजिकै गएराति भएको झडपकामा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ। स्थानीयहरुको जमघट भएको स्थानमा एक स्कुटर र एक मोटरसाईकलमा आएका दुई जनाले विवाद निकाल्दै झगडा गरेपछि खुकुरी प्रहार भएको हो।
उक्त घटनामा ३८ वर्षीय इरसाद कबडीयाको मृत्यु भएको स्थानीयले बताएका छन्। झडपमा संलग्न फैजान अन्सारी घाइते अवस्थामा रहेको र उनको मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले शंकर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । खुकुरी प्रहार गर्ने दुबै जना फरार रहेका छन् भने प्रहरीले उनीहरुको खोजी कार्य तिब्र पारेको छ। घटनास्थलबाट से ७ प ४२५३ नम्बरको मोटरसाईकल बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार लागू औषध सेवन गर्ने र बेच्ने समूहबीचको झडप भएको अनुमान गरिएको छ। मृतक कवडीयालाई झडप छुट्याउन जाने क्रममा खुकुरी प्रहार भएको बताइएको छ।
यसैबीच, मृतकका आफन्तहरूले हत्यारालाई पक्राउ गरी तत्काल सार्वजनिक गर्न माग गर्दै शनिबार बिहानदेखि टाङ्गा स्टेण्ड नजिक र त्रिभुवन चोकमा टायर बालेर सडक जाम गर्दै नाराबाजी गरेका छन्।