धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका सचिव कम्मान सिंह खत्रीको सरुवा भएपछि नयाँ सचिव आएका छन्। खत्रीको सुदूरपश्चिमबाट सरुवा भएकोमा अर्थमा सहसचिव झकलराम अधिकारी आइपुगेका हुन्।
उनी केही दिन अगाडिमात्र मन्त्रालयमा हाजिर भएको बताइएको छ। झलकराम उनै मान्छे हुन्, जो केही समय अगाडि अध्यागमन विभागको महानिर्देशकको रुपमा कार्यरत थिए। सो समयमा उनी निकै विवादित बनेका थिए।
विवादित मात्र होइन, उनलाई सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस नै गरेको छ। ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको थियो।
हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादी दावासँग अधिकारीले ह्वाट्स एपमा शङ्कास्पद कुराकानी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पनि खुलेको थियो। तर, राजनीतिक शक्तिकेन्द्रको दबाबमा सीआईबीले उनलाई सरकारी साक्षी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उनलाई सुन तस्करी मुद्दामा प्रतिवादी नबनाएकोबारे प्रश्न उठेको थियो।
दावासँग कुरा गरेको स्क्रिन सट बाहिरिएपछि तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई अध्यागमन विभागबाट हटाएर गृह मन्त्रालयमा सरुवा गरेका थिए। त्यसपछि उनी ट्रस्टको कार्यालयमा सरुवा भएका थिए।
असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो। सोही आयोगले दोषी ठहर गरेका उनी अहिले सुदूरपश्चिम सरुवा भएर आएका हुन्।
उसो त अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अकुत सम्पत्तिमा छानबिन जारी राखेको छ। सुन तस्करसँग कनेक्सन देखिएका अधिकारीको पोखरा र काठमाडौंका विभिन्न होटलमा लगानी रहेको सूचनाका आधारमा अख्तियारले छानबिन गरिरहेको जनाइएको छ।
झलकराम आउनुअगाडि मन्त्रालयका तत्कालीन सचिव खत्रीको सरुवा रोक्न निकै प्रयास भएको थियो। तर त्यो सम्भव नभएपछि झलक आइछाडेका हुन्।
नयाँ अर्थसचिव आएपनि राजनैतिक उथलपुथलका कारण सुदूरपश्चिमको सरकार अल्पमतमा पर्दा बजेट पनि अलपत्र बनेको छ। यस अगाडि अर्थमन्त्री सुरेन्द्र पालले राजीनामा दिएकोमा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। तर उनले अहिलेसम्म आफूले विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन्।
२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी सरकार अल्पमतमा परेको हो। सोही दिन सरकारमा सहभागी एमालेका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका थिए।
अल्पमतका परेका सोडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न असार २९ गते तीन प्रमुख राजनैतिक दलले सुझाव दिएका थिए। तर उनले नमानेपछि सोडारीकै कारण बजेट पास नहुने अवस्थामा पुगेको बताइएको छ।
तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए। तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन। असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ। तर, यो समयसम्म बजेट पाए नभएपछि शून्यताको अवस्था सृजना भएको हो। अबको अवस्थामा सरकारले बजेट खर्चिन र कर उठाउन पनि पाउने छैन।
एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीकै कारण बजेट फेल भएको भन्दै अब तत्काल नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
उसो त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भने अन्तिममा अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका थिए। तर, प्रदेश प्रमुख आइतबार नै काठमाडौँ गएपछि मुख्यमन्त्रीको त्यो बाटो पनि बन्द भएको थियो।
सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका उपनेता समेत रहेको आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलले एमालेले सहयोग नरेका कारण बजेट पास हुन नसकेको जिकिर गरेका थिए।
उनले संसद् अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको गरेको निर्णय प्रदेश प्रमुखले कार्यान्वयन नगरेर काठमाडौँ गएको समेत आरोप लगाएका थिए।
सदन सुरु हुँदा र बहुमतमा रहँदा सम्म बजेटमाथिको छलफलमा केन्द्रित नभएको सरकारको अल्पमतमा परेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा पनि पूर्णविराम लाग्यो। केन्द्रमा गठबन्धन उल्टिएपछि अहिले सुदूरपश्चिममा पनि कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि छलफल भइरहेको छ।
र, यो पनि: सुदूरपश्चिमका अर्थसचिवको सरुवा, सुनकाण्डवाला पठाइएपछि भयङ्कर राजनीति