धनगढी: सुदूरपश्चिमको फुटबल क्षेत्रका पुराना हस्तीसमेत रहेका एक प्रशिक्षकको निधन भएको छ। सुदूरपश्चिम फुटबलको क्षेत्रमा चम्किला इतिहास मानिने धनगढी उपमहानगरपालिका-४ का लालबहादुर खड्काको निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो। हिजो घरकै शौचालयमा एक्कासी बेहोस भएर ढलेपछि धनगढीकै मायामेट्रो अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा खड्काको निधन भएको हो। आज मंगलबार बिहान उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
उनलाई सुदूरपश्चिममात्र होइन, नेपाली खेलकुदका एक नक्षत्र नै मान्ने गरिन्थ्यो। उनी फुटवलका राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक हुन्। धनगढीको उत्तरमावेहडीमा बसोबास रहेको उनको परिवारमा ९ जना खेलाडी छन्।
खड्का गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का पनि राष्ट्रिय फुटबल टिमका खेलाडी थिए। त्यसपछि लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर खड्काले सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा योगदान गरेका थिए।
उनी फूटबलका कैलाली जिल्ला प्रशिक्षक, सुदूरपश्चिम क्षेत्रीय प्रशिक्षक समेत भएका थिए। उनकै प्रशिक्षणमा रहेको सुदूरपश्चिम क्षेत्रीय फूटबल टोली, २०६८ सालमा धनगढीमा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा च्याम्पीयन भएको थियो। उनी २०३५ सालमा खेलकुदमा प्रवेश भएका थिए।
सुदूरपश्चिमको फुटबल खेलको इतिहासमा योगदान दिन सफल खड्काका दुई छोरा एक छोरी र श्रीमती छन्। खड्काको अन्तिम संस्कार बुधवार बिहान गोदावरी आर्यघाटमा गरिने भएको छ। उनीप्रति अहिले विभिन्न संघ, संगठन तथा खेलाडीले श्रद्धाञ्जली अर्पण गरेका छन्।