दार्चुला – आसन्न स्थानीय तह निर्वाचनका लागि दार्चुलाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् ।
गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका छन् ।मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ । आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन् ।
“करिब करिब सबै वडामा घरदैलो सकिएको छ”, सत्तारुढ गठबन्धनका तर्फबाट नौगाड गाउँपालिका उपाध्यक्ष पदका उमेदवार जगत सिह ठगुन्नाले भने, “बाँकी रहेको केही मतदाताको घरदैलोमा आज साँझसम्म पुग्ने लक्ष्य छ ।”मौन अवधि सुरु नहुञ्जेलसम्म प्रचारप्रसार जारी रहने उनको भनाइ छ । यस्तै यस्तै नेकपा एमालेका उम्मेदवार रमेश बोहराले पनि आफुहरुको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको बताए ।“हामीले वडाका करिब सबै ठाउँमा घरदैलो गरिसकेको र बाँकी रहेका ठाउँमा आज बिहानैदेखि घरदैलो गरिरहेका छौं”, उनले भने, “आज साँझसम्म सबै ठाउँमा घरदैलो सकिन्छौँ ।” विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताको घर–घरमा पुगिरहेका छन्, भने स्वतन्त्र उम्मेदवार आफ्नो चुनाव चिन्ह अङ्कित झण्डा, ब्यानर र व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न व्यस्त छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत वैशाख २७ गते सोमबार रातिदेखि मौनअवधि सुरु हुने मधेश जिल्ला निर्वाचन अधिकृत प्रदिप सिह धामीले जानमकारी दिए । दुई नगरपालिका तथा सात वटा गाउँपालिका रहेको दार्चुलामा ६१ वडाहरु रहेका छन । जिल्लाभरी जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि दार्चुलामा १३९ मतादान केन्द्र तोकेको छ । जिल्लामा मतदाताको कूल सङ्ख्या ८८ हजार भन्दा माथि रहेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाले निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम समेत दिइसकेको जनाएको छ । उनीहरुपनि खटाएको ठाउँमा जान थालिएको पाइएको छ । निर्वाचन सम्पन्न गर्न यहाँको महाकाली नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनम रहेका छन् । नौ वटा स्थानीय तह र ६१ वडा रहेको दार्चुलामा ३२३ पदको लागि ७७० जनाको उम्मेदवारी दर्ता भएको छ ।