दार्चुला– दुई नगरपालिका तथा सात वटा गाउँपालिका रहेको दार्चुलामा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामाग्रीसहित मतदान अधिकृत र कर्मचारी खटिन थालेका छन् । टाढाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र कर्मचारीले निर्वाचन सामाग्री बुझेर खटिएका हुन् ।
आइतबारदेखि मतदान अधिकृतले निर्वाचन सामाग्री आफ्नो जिम्मेवारीमा लिएर गएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले बताए । टाढाका स्थानीय तहका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचन सामाग्री बुझाइएको धामीले बताए ।
जिल्लामा ११० मतदानस्थल र १३९ मतदान केन्द्र छन् । निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतको लागि दुई दिन अभिमुखीकरण कार्यक्रम गरेर उनीहरु आफ्नो मतदान केन्द्रमा खटिन थालेको धामीको भनाई छ ।
जिल्लाको लागि कुल ९९ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँको कुल मतदाता संख्या ८८ हजार २८५ रहेको छ । मतपत्र कुनै कारण तलमाथि हुन गएको खण्डमा कुल मतदाताको ५ देखि १० प्रतिशत मत बढि आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश विष्टले जानकारी दिनुभयो ।
आयोगको नीति अनुसार नै मतदाताको संख्या भन्दा केही बढी मतपत्र जिल्ला आएको हो । २७ वैशाखसम्म सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपत्र दिएर पठाइसक्ने विष्टले बताउनुभयो ।
मतपत्रको ढुवानी नेपाली सेनाले गर्नेर्छ । जिल्लाको सबैभन्दा टाढाको व्याँस गाउँपालिका १ छांगरु तिंकरको लागि हेलिकप्टरको माग गरिएको छ । तर अहिलेसम्म हेलिकप्टर आउने विषयमा कुनै जानकारी नभएको विष्टले बताउनुभयो ।