डडेल्धुरा– स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरामा मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लाभर मदिराको बिक्रीवितरण, ओसार–पसार तथा सेवनामा पूर्णरूपमा रोक लगाइएको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको प्रशासनले जनाएको छ ।
प्रशासनले आइतबार एक सूचना जारी गर्दै बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि सोमबारदेखि निर्वाचन परिमाण घोषणा नहुन्जेलसम्म मदिरा बिक्रीवितरण र सेवनमा पूर्णरूपमा रोक लगाइएको प्रजिअ जोशीले बताए । यदि कसैले यसविपरित गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने उनले बताए ।