धनगढी: धनगढीको इन्द्रेणी दोहोरीसाँझमा फेरि लफडा भएको छ। अस्ति राति दोहोरीसाँझमा लफडा भएको हो।
सो लफडामा बझाङ घर भएका नेपाली काङ्ग्रेस निकट नेविसंघका नेतासमेत रहेका रमेश भाटको समूहले एक जनामाथि कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कैलाली प्रहरी स्रोतका अनुसार अहिले सो कुटपिट काण्डमा भाट, उनका साथी पुस्कर बोहरा र इन्द्र बोहरालाई पक्राउ गरिएको छ। यस्तै कुटपिटमा संलग्न थप अन्यलाई पक्राउ गर्ने तयारी रहेको प्रहरीले बताएको छ।
उनीहरुले राति मदिराको तालमा दोहोरीसाँझमा लफडा मच्चाएर इन्द्रेणीमा गीत गाउने भोजबहादुर महरालाई कुटेका थिए। स्रोतका अनुसार उनीहरूले गाउने क्रममा माइक थुत्न खोजेको र थुत्न नदिएपछि कुटपिट भएको थियो। त्यसपछि घाइते भएका महरालाई आइसियुमा राखिएको थियो। घाइते महरा धनगढीको होटल जियानका सञ्चालक प्रकाश जोशीको संस्थाबाट काम गर्ने स्टाफ हुन्। उनको नाकको हड्डी भाँचिएकोमा अहिले शल्यक्रियापश्चात नर्मल बेडमा राखेर नवजीवन अस्पतालमा उपचार जारी छ।
सोही क्रममा उनका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीपछि भाटसहितका युवाहरुलाई प्रहरीले समातेर थुनामा राखेको छ। प्रहरीले अहिले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस अगाडि पनि धनगढीको चटकपुरस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा हुँदै आएको थियो। केही समय अगाडि कुटपिट काण्डमा दोहोरीकी साहुनी राधिकाराज लम्सालका छोराविरुद्ध प्रहरीमा निवेदनसमेत परेको थियो। तर सो घटना पछि गएर केही लेनदेनसहित मिलापत्र गराइएको थियो।
धनगढीमा अन्यत्र बजार १० बजे बन्द हुने गरेकोमा सो दोहोरी भने १२ बजे भन्दा बढी समयसम्म खुलै रहने गर्दछ।
र, यो पनि: धनगढीको एक दोहोरी साँझमा लफडा, साहुनीको छोरालाई खोज्दै प्रहरी
धनगढीको दोहोरीकाण्ड ६० हजारमा सामसुम