धनगढी : कैलालीको धनगढीस्थित एक दोहोरी साँझमा लफडा भएको घटना प्रहरीमा गएर मिलेको छ।
अस्ति शुक्रवार राति धनगढीको चटकपुरस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा भएकोमा प्रहरीमा गएर कुरो मिलेको हो।
मध्यरातमा लफडा भएकोमा धकेलाधकेलमा परेर एक पत्रकारलाई चोटपटक पनि लागेको थियो। तर, घाइते ती पत्रकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा आफूलाई कुटपिट भएको भन्ने उजुरी गएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरी स्रोतका अनुसार कुटपिट गर्ने दोहोरीका साहुनीकै अन्दाजी २६ वर्षीय छोरा सुशान्त सिंह बिष्टलाई प्रहरीले पक्राउ गर्दै जरिवाना गराएपछि घटनामा मिलापत्र भएको हो।
दोहोरी साँझकी साहुनी राधिकाराज लम्साल बिष्टका छोरा शुशान्तविरुद्ध पीडित पत्रकार पक्षबाट प्रहरीमा निवेदनसमेत परेको थियो।
निवेदनपछि साहुनीका छोरा प्रहरी सम्पर्कमा नआएपछि प्रहरीले उनलाई समातेको थियो। त्यसपछि उनले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचाररत घाइते पत्रकारको उपचारका लागि ६० हजार रकम दिने सहमतिपछि अस्ति नै घटना मिलाइएको बताइएको छ।
साहुनीको विगत पनि धुमिल
ती दोहोरीकी साहुनीको विगत पनि धुमिल नै रहेको पाइएको छ। उनीमाथि पहिल्यैदेखि कुटपिट लगायतका आरोप छन्।
पहिले २०७९ सालको फागुनतिर उनै लम्साल बिष्ट साहुनी पक्राउ परेकी थिइन्।
२०६३ सालमा कैलाली जिल्ला अदालतले विष्टलाई कुटपिट मुद्दामा एक महिना कैद र ६ सय रुपैयाँ जरिवाना सुनाएको थियो। कुटपिट मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेपछि उनी फरार सूचीमा थिइन्। त्यसपछि प्रहरीले तत्कालीन समयमा उनलाई पक्राउ गरेको थियो।
र यो पनि : धनगढीको एक दोहोरी साँझमा लफडा, साहुनीको छोरालाई खोज्दै प्रहरी