कञ्चनपुर– आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । जिल्लाका ९ वटै पालिकामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
निर्वाचन भयरहित वातावरणमा सम्पन गर्न झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । निर्वाचनका बेला हुनसक्ने सम्भावित अपराधिक गतिविधि नियन्त्रण गर्न निर्वाचन सुरक्षा निकायले जिल्लाभर सुरक्षा सर्तकता बढाएको उनले बताए । उनका अनुसार निर्वाचनको ४८ घण्टा अघि नेपाल–भारत सीमा बन्द हुने भएको छ ।
प्रजिअ पाण्डेका अनुसार जिल्लामा ३४१ मतदान केन्द्र तोकिएको छ । यहाँ कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ छ । निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी गरिरहेका छन् ।