धनगढी: नेकपा (एमाले) को लम्की चुहा नगरपालिका वडा नम्बर १ को दोस्रो अधिवेशन केन्द्रीय सदस्य कमला ओलीका कारण लम्बिएको छ। २० गते ओलीले वडा अधिवेशन उद्घाटन गरेकी थिइन्। तर तीन दिन पुग्दासम्म पनि नयाँ कमिटी बन्न सकेको छैन।
कैलाली क्षेत्र नम्बर २ की इन्चार्ज समेत रहेकी ओलीले आफ्ना ज्वाईं बलबहादुर भण्डारीलाई वडा कमिटीको अध्यक्ष बनाउन खोजेपछि अधिवेशन लम्बिएको बताइएको छ। ओलीलेजस्तै लम्कीका पूर्व मेयर महादेव बजगाईले पनि आफ्ना ज्वाईं भरत खनाललाई बनाउन खोजेका छन्।
त्यहाँ व्यवसायी सूर्यबहादुर थापाले पनि आफ्ना निकटका डिल्ली गडतोलालाई वडा कमिटीको अध्यक्ष बनाउन खोजेका छन्। ओली, बजगाई र थापा एमाले भित्र एउटै समूहका हुन्। तर, स्रोतका अनुसार उनीहरु तिनै जनाको पटकपटक बैठक बस्दा पनि वडाअध्यक्षका विषयमा एकमत हुन सकेको छैन।
स्थानीय तहको चुनावमा सो वडा एमालेले लगातार जित्दै आएको छ। अहिले वडालाई विवादित बनाउन खोजिएपछि भविश्यमा चुनाव जितिन्छ त भन्ने तनाव एमाले कार्यकर्ताहरुले गर्न थालेका छन्।
२१० पार्टी सदस्यका बीचमा भने विरेन्द्र विष्ट बलिया छन्। उनले सहमतिमा नभए चुनावी प्रक्रियाबाट अध्यक्षको टुंगो लगाउनु पर्ने बताइरहेका छन्। तर अहिले भने स्थिति रडाकोमय बनेको छ। निकास ननिस्किएपछि अधिवेशन अलपत्र बनेको छ।