काठमाडौं : नेकपा एमालेको अनुशासन आयोगले पार्टीका केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न सिफारिस गरेको छ । स्थलगत अध्ययन सहितको छानबिनपछि आयोगले महर र शाहलाई कारबाही सिफारिस गरेको हो ।
‘आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययन, पीडित र अरु व्यक्तिहरुसँग कुरा गर्दा उहाँहरु दुवै जना पदमा बस्न योग्य देखिनुभएन’, आयोगका एक सदस्यले भने । उनका अनुसार, छानबिन प्रतिवेदन तयार भएपछि आयोगको बैठक बसेर कारबाही गर्न पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ ।
‘पार्टी केन्द्रीय कमिटीले के गर्छ, थाहा भएन । तर उहाँहरुले गरेको काम अनुशासन बाहिरको कुरा हो’, ती सदस्यले भने । कर्णाली प्रदेश अध्यक्ष शाहलाई आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको छ ।
पार्टीकै एक महिलाले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोगले छानबिन थालेको थियो । शाहमाथि छानबिन गर्न आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा हर्कबहादुर कुँवर (गोविन्द) र दीपकप्रसाद देवकोटा सदस्य थिए ।
यही समितिलाई महरमाथि समेत छानबिन गर्ने जिम्मेवारी दिइएको थियो । त्यसैले कुँवर र देवकोटा सदस्य राखिएको थियो । छानबिन समितिमा रहेका देवकोटा अहिले बागमती प्रदेशको प्रमुख नै नियुक्त भइसकेका छन् ।
‘छानबिनमा देखिएको तथ्यहरु हेर्दा शाह भन्दा पनि महरको अपराध ठूलो छ । त्यही कुरा पार्टीमा सिफारिस गरेका छौं’, ती सदस्यले भने । महरलाई पनि यौन शोषणको आरोप लागेको छ । यसअघि एक महिलासँगको उनको अडियो समेत सार्वजनिक भएको थियो ।
त्यो अडियो सार्वजनिक भएपछि महर केन्द्रीय सदस्यबाट हटाइएका थिए । तर गत १५ वैशाखको उपचुनाव अगाडि पुनः पदबहालीको निर्णय भएको थियो ।