काठमाडौं: बाँकेमा रहेको गुप्तचर विभागका कर्मचारीमाथि नेपाल प्रहरीले छानबिन थालेको छ। नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको विषयलाई लिएर छानबिन थालिएको हो।
स्रोतका अनुसार छानबिनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको हो। उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठ नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए।
करिब दुई हप्ताअघि बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का एक सूचक कुटिएका थिए। भारतबाट नेपाल भित्र्याइँदै गरेको अवैध रुपैयाँ रोक्न खोज्दा नेपाल–भारतको सीमाक्षेत्र जमुनाहा नाकामा सूचक अर्जुन खड्का कुटिएका थिए।
उक्त रकम नेपालगन्जस्थित होटेल कलपत्रुमा सञ्चालित क्यासिनोका निम्ति ल्याइएको थियो। सोही विषयलाई लिएर विवाद भएपछि अहिले प्रहरीले छानबिन थालेको हो।
प्रहरीका अनुसार, अवैध रकमबारेको सूचना प्रहरीलाई नदिई खड्का आफैँले नियन्त्रण गर्न खोज्दा कुटाइ खाएका हुन्।
बाँकेमा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख उपअनुसन्धान निर्देशक (एसपी)मा ओम खड्का र नेपाल प्रहरीको एसपीमा तुलबहादुर कार्की छन्। कार्की र खड्काबीचको समन्वय अभावमा घटना भएको बुझिन्छ। खड्काले विभागका कर्मचारीलाई अवाञ्छित काम लगाउने गरेको पनि आरोप छ।