काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रहरी हवल्दारलाई घुस रकमसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी भुजुवा, नवलपरासी बर्दघाट सुस्ता पश्चिम दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत हवल्दार डुक बहादुर खड्का घुस रकमसहित पक्राउ परेका हुन् ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा रुपन्देहीको रोहिणी गाउँपालिका–३ सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको उनीमाथि आरोप छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।