काठमाडौं : केही वर्ष अघिसम्म हरितालिका तीजका दिन महिलाहरु चौतारो, बिसौनी वा कुनै सार्वजनिक ठाउँमा जम्मा भएर नाचगान गर्थे । अघिल्लो रात महिलाहरु माइती, घर तथा आफन्तकोमा दर खान्थे । तर अहिले ती सबै कुरो फेरिएको छ ।
पछिल्लो समय महिलाहरु पार्टी प्यालेस, रेष्टुरेण्ट र क्लबहरुमा तीज मनाउने जम्मा हुने गरेका छन् । अहिलेका महिलालाई मादल र बासुरीको लय भएको गीत मन पर्न छाडेको छ । उनीहरु अटो ट्यूनबाट तयार पारिएको डिजे र रिमिक्स गीत मन पराउँछन् ।
प्रविधिले गीत संगीतको क्षेत्र त फराकिलो बनाए पनि नेपाली समाजको मौलिकता झल्कने गीतहरु लोप हुँदै गएका छन् । यसलाई कलाकारहरुले भने राम्रो आम्दानी हुने अवसरको रुपमा लिएका छन् । यस्तो बेलामा कलाकार पार्टी प्यालेस, रेष्टुरेण्ट र क्लबका कन्सर्टहरुमा व्यस्त बनेको पाइन्छ ।
कलाकारहरुलाई स्वदेशको कार्यक्रममा भन्दा विदेशको कार्यक्रमबाट बढी आम्दानी हुने भएकाले चाडपर्वको बेला देशबाहिरै जान रुचाएको देखिन्छ । अहिले तीजका लागि कलाकारहरु विदेशका कार्यक्रम सहभागी हुन धमाधम मुलुक बाहिर गइरहेका छन् ।
तीजकै लागि भनेर साताअघि गायिकाहरु शान्तिश्री परियार, रचना रिमाल र ज्योती मगर अमेरिका उडे । अगष्ट १० मा बोस्टनमा उनीहरुको पहिलो कन्सर्ट भयो । आगामी ४५ दिनमा उनीहरुले १५ भन्दा बढी शहरमा प्रस्तुती दिने कार्यक्रम छ ।
गायिका प्रिती आले, गायक प्रकाश दुतराज पनि तीज कार्यक्रमको लागि दुबई पुगेका छन् । उनीहरुले स्थानीय याक एण्ड एभरेष्ट यतीमा प्रस्तुती दिने बताइएको छ ।
गायक पशुपति शर्मा, गायिका देविका घर्ती र शोभा त्रिपाठी अष्ट्रेलिया पुगेका छन् । गायिका कोमल वली पनि तीज कार्यक्रमको लागि त्यहाँ पुगिसकेकी छन् । अर्का गायक खुमन अधिकारी पनि दुबईमा छन् । तीज धमाका कार्यक्रममा उनको प्रस्तुती रहने जानकारी दिइएको छ ।
गायिका समीक्षा अधिकारीको जापानको तीज कार्यक्रममा सहभागी हुने तयारी छ । गायिका मेलिना राईको पनि भारतको नयाँ दिल्ली र जापानका विभिन्न ठाउँमा कार्यक्रम तय भइसकेको छ ।
गायिका सुनिता दुलाल तीज कार्यक्रमका लागि पोर्चुगलमा छन् । त्यहाँबाट उनी अष्ट्रेलिया जाने कार्यक्रम छ । गायक प्रमोद खरेल ब्याण्डसहित दुबई प्रस्थान गर्दैछन् । गत शनिबार दी भ्वाइस किड्सको फिनाले सकिएसँगै उनी विदेशको कार्यक्रमका सहभागी हुन लागेका हुन् ।