काठमाडौं: पछिल्लो समय बाँकेमा प्रहरी पङ्गु हुँदा शान्ति सुरक्षा खलबलिएको छ। केही समययता जिल्लामा सुरक्षा चुनौती बढ्दै गएको हो। यहीँ भदौ १ गते बेलुकामात्रै जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं ५ विनौनामा एक घटना घट्यो।
सो घटनामा गुण्डागर्दी छविकै बैजनाथ गाउँपालिकाका २८ वर्षीय सुलभ मल्ल र २८ वर्षीय सन्दीप विष्ट (स्याण्डी) घाइते भए। सन्दीप उनै व्यक्ति हुन्, जसले ज्यान मार्ने उद्योगदेखि गुण्डागर्दीसम्मका अनेकन मुद्दा खेपिरहेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्म भण्डारीका अनुसार सन्दीपविरुद्ध प्रहरी र अदालतमा विभिन्न मुद्दाहरु छन्। स्रोतका अनुसार तत्कालीन युवा संघका नेता तथा जसपा हुँदै अहिले तरुण दलमा पुगेका सन्दीपविरुद्ध ५ वटा मुद्दा छन्।
सन्दीपविरुद्ध ढकेरी प्रकरणमा विशाल केसी (बिरु) लाई ज्यान मार्ने उदेश्यले कुटेको, अनुराग क्युएफएक्स प्रकरण, कम्दीमा युवा संघको कार्यक्रममा लफडा गरेर रतिश कश्यपलाई कुटपिट गरेको र कम्दी प्रकरणमै मोहनराम यादवले सन्दीप र उनका भाई समीर बिष्टविरुद्ध पनि मुद्दा हालेका थिए।
त्यस्तै सोही जिल्लाको राप्तीपारी प्रकरणमा पनि प्रदीप राजकले सन्दीपविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा हालेका थिए। ती मुद्दाहरुमध्ये केहीमा सन्दीप फरार प्रतिवादी थिए भने केहीमा अदालतको तारेखमा थिए। उता प्रहरीले पनि सन्दीपविरुद्ध मुद्दा रहेको कुरा पुष्टि गरेको छ।
उनै टोले गुण्डा सन्दीप खुकुरी प्रकरणमा घाइते भएपछि बाँके र कोहलपुर झन अशान्त बनेको छ। खुकुरीकाण्डमा परेका सन्दीप र शुलभ भने अहिले उपचारका क्रममा भारतको लखनऊमा रहेका छन्। यता प्रहरीले अहिले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले सो घटनामा बाँकेकै राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका ३४ वर्षीय ज्ञानेन्द्र वली, सोही ठाउँका रत्नबहादुर भण्डारी, वामे भनिने सन्दीप वली र दाङको घोराहीका विशाल बस्नेतलाई पक्राउ गरिएको बताए।
यस्तै उनले पीडितबाट १० जनाको नाममा जाहेरी परेकोमा ६ जना फरार रहेको जानकारी दिए।
वडाध्यक्षलाई फसाउने खेल, प्रहरीकै द्वैध कुरा
सो प्रकरणमा वडाध्यक्ष वलीलाई भने प्रहरीले बिनाकारण पक्राउ गरेको जनाइएको छ। नेकपा एमाले नेता तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्षसमेत रहेका वलीलाई फसाउन खोजिएको एमालेका बाँके जिल्लाका उपसचिव किशोर थापाले बताए।
थापाका अनुसार राजनैतिक प्रतिशोध साध्न र वलीको राजनीति सिध्याउन विपक्षीले गर्दै नगरेको अपराधमा वलीलाई मुछिएको हो। थापा भन्छन्, ‘घटना भएको दिन वडाध्यक्ष न घटनास्थलमा थिए। न उनले खुकुरी हानेका हुन्। जबकी घटना भएको स्थान र वडाध्यक्षको घर वारि पारी हुन्,’ उनी थप्छन्, ‘यसमा वडाध्यक्षलाई बिना कारण फसाइएको छ। प्रहरीकै भूमिका संकास्पद छ।’
यस्तै थापाले वडाध्यक्ष वलीले घटना घटेको १ घण्टापछि मात्रै सोबारे थाहा पाएको बताए। उनले साढे ९ बजे वडाध्यक्षलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको पनि बताए। तर कोहलपुरका डिएसपीले भने वडाध्यक्षलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिएको बताए।
जबकी बाँकेका डिएसपीले भने वडाध्यक्ष घरबाटै समातिएको जनाए। यसबाट प्रहरीकै भूमिका संकास्पद रहेको प्रष्ट हुन्छ। स्रोतका अनुसार कोहलपुर प्रहरीले मुचुल्का बनाउनेदेखि अनुसन्धान गर्ने कुराहरूमा पनि फट्याइँ गरिरहेको पाइएको हो। राष्ट्रिय युवा संघ नेपालका सचिव थापाले पनि घटना एकातिर र प्रहरीले अर्कोतिर अनुसन्धान गरेर मुद्दा दर्ता गरेको दाबी गरे।
उनले त्यसका विरुद्ध एमाले पार्टी र युवा संघ नेपाल उत्रिने पनि जनाए। घटनामा संलग्न नै नभएकाको नाममा घाइतेले नाम लिएकै आधारमा पक्राउ गरेर मुद्दा चलाइएको उनको भनाई छ। जबकी सो घटनामा वडाध्यक्षको संलग्नता पुष्टि हुने प्रमाण प्रहरीसँग पनि छैन। तर प्रहरीले भने अनावश्यक दु:ख दिइरहेको आरोप छ।
वडाध्यक्षको राजनीति सकाउने लक्ष्यले नियोजित रुपमा वडाध्यक्षलाई फसाउन खोजिएको उनका कार्यकर्ताहरुको जिकिर छ। उता इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी भण्डारीले भने घटनामा ६ जना थप फरार रहेको बताएका छन् भने घटनाको थप अनुसन्धानका लागि पक्राउ गरिएकाहरुमाथि ७ दिनको म्याद थप माग गरिएको जनाए।