काठमाडौं: हिजो (शनिबार) राति कैलालीको धनगढी उपमहानगरपालिकामा एक समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनायो। राति धनगढी–२ मिलनचोकस्थित रोड हाउस क्याफे नजिक उक्त समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवा र कैलालीको गोदावरी नगरपालिका–४ का २२ वर्षीय सहचालक अनिल देउवा भएका घाइते थिए।
उनीहरुमाथि आक्रमण गरेको आरोपमा कैलाली प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरिसकेको छ। भने, एकजना फरार रहेका छन्। पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–१ का १८ वर्षीय ट्याङ्कर सहचालक विक्रम मल्ल, डोटीकै सिलगढी नगरपालिका–३ का १९ वर्षीय अरुण बोगटी, धनगढी उपमहानगरपालिका–२ करिब १६ वर्षीय डोरेमन भन्ने पुष्कर धामी, धनगढीकै सनम राई र इसान गुरुङ रहेका छन् भने धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २३ वर्षीय मुस्कान सिंह फरार छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिहेको प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए।
किन भयो लफडा ?
हिजो राति भएको घटनाको जड किशोरी भएको प्रहरी स्रोतले बताएको छ। स्रोतका अनुसार धनगढीकै एक विद्यालयमा कक्षा ९ मा पढ्ने वर्षा (नाम परिवर्तित)को सुरुमा डोटीका विक्रम मल्लसँग प्रेम रहेको खुलेको छ।
मल्ल र धामीको प्रेमकहानीमा अर्का धामीको प्रवेश भएको थियो। उनी थिए धनगढीकै डोरेमन भन्ने पुष्कर धामी। अहिले धामीले धामीलाई बहिनी बताएपनि उनीहरुबीच गोप्य अफेयर चलेको थियो। उनीहरु सामाजिक सञ्जाल फेसबुकमा गोप्य रुपमा प्रेमका कुराकानी गर्ने गरेको खुलेको छ।
किशोरीको दुईतिर प्रेम सम्बन्ध हुँदा विवाद सुरु भएको अनुसन्धानबाट देखिन्छ। एउटै किशोरीको दुईजनासँग अफेयर चलेको थाहा पाएपछि विक्रम मल्ल र पुष्कर धामीबीच लफडा हुनथाल्छ। त्यसैमा ती किशोरीले ‘पुस्करले मलाई जिस्कायो’ प्रथम प्रेमी मल्ललाई कुरा लगाएकी थिइन्। त्यसपछि मल्ल र धामी सामाजिक सञ्जालबाटै बाझाबाझ गर्छन्।
अनि फेसबुकबाट सुरु भएको उनीहरुको विवाद मिलनचोकमा हानहानसम्म पुग्छ। प्रहरी स्रोतका अनुसार उनीहरुबीच हिजो राति ९ बजे भेट्ने कुरा भएको थियो। सुरुमा बिक्रमले भन्सार रोडमा बोलाए भने पुष्करले घटनास्थल मिलनचोममा बोलाए। भेट्ने क्रममा धामीले अरुण बोगटीलाई ल्याएर आएका थिए भने, मल्लसँग सनम राई र इसान गुरुङ आएका थिए।
सबैजना त्यहाँ पुग्ने बित्तिकै विवाद सुरु हुन्छ। विवाद मात्रै होइन उनीहरुबीच हानाहान नै हुन्छ। त्यसक्रममा विक्रम मल्लले पुष्कर धामीको टाउकोमा हानेका थिए। त्यसपछि धामी रगताम्य भएर त्यहाँबाट भागे।
त्यसको केही घण्टामा धामीले केही युवाहरुलाई घटनास्थलमा पठाए। त्यहाँ जाने टोलीको नेतृत्व मुस्कान सिंहले गरेका थिए। सिंह त्यहाँ अरुण र विक्रमलाई कुट्ने जिम्मेवारीका साथ पठाइएका थिए। तर, उनी पुग्दा त्यहाँ चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवा मात्रै भेटिन्छन्।
ट्यांकरमा सुतेका उनीहरु मुस्कान सिंह पुग्दा बाहिर पिसाब फेर्न निस्केका थिए। जसलाई पायो त्यसलाई कुट्न आदेश पाएको सिंहको समूहको चपेटामा उनीहरु पर्छन्। र, घाइते हुन्छन्। जबकी उनीहरुको कुटपिट गर्नेहरुसँग कुनै सम्बन्ध तथा विवाद नरहेको खुलेको छ।