काठमाडौं: बाँकेमा नेपाल प्रहरी र नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय नभएको पुष्टि भएको छ। समन्वय नभएका कारण गुप्तचरका कर्मचारीले कुटाई खाएकोदेखि प्रहरीले गुप्तचर जोडिएको घटनाको छानबिन गर्नु परेपछि मतभेद रहेको स्पष्ट भएको हो।
केही समय अगाडि बाँकेमा गुप्तचरका एसपी (कार्यालय प्रमुख) ओम खड्का रहेको कार्यालयका एक कर्मचारी कुटिएका थिए। सो घटनामा प्रहरीले गुप्तचरकै कमजोरी देखाएको छ।
प्रहरीले समन्वय नगरेको गुप्तचरमाथि आरोप लगाएको छ। उसो त, जिल्लामा गुप्तचरका कर्मचारीले आतंक मच्चाएको बताइन्छ।
बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेर आतंक मच्चाएको बताइएको हो। उनीहरूका कारण प्रहरी पनि हैरान भएको थियो।
त्यहाँ पटकपटक विवाद आएपनी विभागले कारबाही गर्ने तथा नेतृत्व फेर्ने विषयलाई आलटाल गर्दै आएको छ।
यस अगाडि विभागका घटना छानबिन गर्न प्रहरीले समिति नै गठन गरेको थियो। सो समितिले अहिले छानबिन सकाएको र प्रतिवेदन प्रहरी प्रधान कार्यालय, विभागको प्रधान कार्यालय तथा गृहमन्त्रालयलाई पठाइसकेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेर छानबिन गरेकोमा उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठले प्रतिवेदन बुझाइसकिएको जानकारी दिए।
उनका अनुसार आफू नेतृत्वको समितिले घटनाबारे छानबिन सकाएको जनाए। स्रोतका अनुसार छानबिन समितिले घटनामा गुप्तचर र कार्यालय प्रमुखको कमजोरी तथा कैफियत फेला पारेको थियो।
भारतबाट नेपाल भित्र्याइँदै गरेको अवैध रुपैयाँ रोक्न खोज्दा नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित नेपाल–भारतको सीमाक्षेत्र जमुनाहा नाकामा सूचक अर्जुन खड्का कुटिएका थिए। सो घटनापछि गुप्तचर विवादमा तानिएको थियो।
त्यसका साथै गुप्तचरमाथि असुली धन्दा चलाएको आरोप पनि लागेको थियो। सूचनाको लागि खटिनुपर्ने सूचक पैसा उठाउनमा परिचालन भएको बताइएको थियो।
जसका हवल्दार गोविन्दजंग शाह, बुद्धिप्रसाद शर्मा र उदय अधिकारी लगायतको टोलीको नाम आएको थियो।
बाँकेमा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख उपअनुसन्धान निर्देशक (एसपी)मा ओम खड्का र नेपाल प्रहरीको एसपीमा तुलबहादुर कार्की छन्। कार्की र खड्काबीचको समन्वयमा अभाव देखिन्छ।
र, यो पनि: उता एसपी ओम खड्का, यता पत्रकार श्रेष्ठको आतंक
एसपी खड्काको जासुसी टोली बदनामित, असुली धन्दाको आरोप
गुप्तचर कुटिएको काण्ड पुलिसले हेर्दै, छानबिन समिति गठन