बैतडी– आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बैतडीमा साढे २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ४० म्यादी प्रहरी, ६ सय २५ नेपाल प्रहरी र ३ सय ४० सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ । बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । यीमध्ये सुरक्षाको दृष्टिकोणले ३१ ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेका छन् ।
जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशील सूचीमा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।