काठमाडौं: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको आज बिदाई भयो। ज्ञवाली आजबाट अवकाश पाएपछि बिदाई गरिएको हो।
उनलाई आईजीपी वसन्तबहादुर कुँवरसहितले बिदाई गरेका थिए। सो क्रममा ज्ञवाली आफूले प्रहरी संगठनका लागि ठूलो योगदान गरेको जनाएका थिए।
जबकी उनीमाथि घर जाने बेला विभागीय आचरण विपरीतका गतिविधिमा संलग्न भएको आरोप लागेको थियो। सो आरोप खेपेरै उनी अवकाशप्राप्त बनेका हुन्।
उसो त प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको निवेदनबारे जाँच गर्न २३ असारमा एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो।
सो समितिका एक सदस्यका अनुसार, जाँचका क्रममा ज्ञवालीबारे विस्तृत अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु देखिएका छन्। केही सन्दर्भमा कैफियत फेला परेका छन्। तर, मंगलबार राति १२ बजेबाट ५६ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्।
उता छानबिन समितिले छानबिनको रिपोर्ट अधुरै आईजीलाई बुझाएको बताइएको छ। स्रोतका अनुसार राई नेतृत्वको समितिले छानबिन पूरा हुन नसकेको भन्दै ज्ञवालीलाई कारबाही गर्न सिफारिस अथवा सफाइ दिने दुवै निष्कर्ष लेखेको छैन।
यद्यपि, विविध कारण देखाउँदै ज्ञवालीमाथि थप अनुसन्धान गर्नुपर्ने स्थिति रहेको भने प्रतिवेदनमा उल्लेख भएको स्रोतले बताएको छ।
ज्ञवालीमाथि अमेरिकाको स्थायी आवास अनुमति पत्र (पिआर) लिएकोदेखि फरार रहेका व्यक्तिसँग साँठगाँठ गरेकोसम्मका आरोप लागेका थिए।
ती आरोपबारे छानबिन तथा सोधपुछ गर्नका लागि समितिले दुई पटकसम्म लिखित पत्राचार गर्दा पनि ज्ञवालीले अटेर गरेको पनि पाइएको छ। उनले जवाफ नै नदिएको बुझिएको हो।
यस अगाडि सीआईबीमा रहँदा ज्ञवालीले ‘अनुचित लेनदेन’ गरेकोदेखि विचौलियासङ्ग मिलेर आर्थिक अनियमितता गरेको पनि आरोप लागेको थियो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, आईजीलाई बुझाइएको प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयको आदेशविना फरार व्यक्तिसँग सम्पर्क गर्नु स्वाभाविक नदेखिएको भनिएको छ।
उनले त्यस क्रममा प्रहरी संगठनभित्रको चेन अफ कमान्ड उल्लंघन गर्दै अनुचित महत्वाकांक्षा देखाएको टिप्पणी भएको थियो। प्रतिवेदनका आधारमा प्रहरी महानिरीक्षक कुँवरले नसिहत दिने, प्रतिकूल राय लेख्ने, ग्रेड रोक्का गर्ने जस्ता कारबाही गर्न सक्छन्।
तर, अवकाशमा गइसकेको भन्दै आईजीपी कुँवरले कुनै कारबाही गर्नुनपर्ने भनेको स्रोतको दाबी छ।
उतक समितिले भने अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमार्फत छानबिन गर्न सकिने राय दिएको बताइएको छ।
विवादित ज्ञवाली ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। उनीसहितका अधिकृतहरुले उमेर हदको आधारमा अवकाश नदिन भन्दै अदालतमा रिट निवेदन समेत दिएका थिए। तर, अदालतले अन्तरिम आदेश दिएन।
र, यो पनि: एआईजीको जागिर सकियो, सकिएन छानबिन