काठमाडौं: उपसभामुख इन्दिरा रानामगरलाई हटाउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
आज साँझ ५ बजे सिंहदरबारमा डाकिएको बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।
अहिलेको संरचनाअनुसार परिषदमा सत्ता र प्रतिपक्षको ५०–५० प्रतिशत प्रतिनिधित्व देखिन्छ। कुनै विषयमा सर्वसम्मत हुने अवस्था नरहे परिषद बैठकले बहुमतका आधारमा निर्णय गर्छ। त्यसकारण प्रधानमन्त्री ओलीले आफू अनुकूल बनाउन उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने योजना बनाएको चर्चा चलिरहँदा परिषद बैठक डाकिएको छ।
प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ। त्यसको एक महिना अगावै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ।
न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो।
बैठकले प्रधान न्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गर्ने सम्भावना रहेको छ। उनी पहिलो नम्बरमा रहेका छन्।