काठमाडौँ: नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आन्दोलनबाट अदालत किन प्रभावित हुन्छ भन्दै प्रश्न गरेका छन्।
बुधबारको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद शर्माले सर्वोच्च अदालतको झ्यालबाट जुलुस हेरेर पनि फैसला हुने गरेको बताएका हुन्।
उनले भने– बाटो बिस्तार भइरहेको अवस्थामा अदालतले निर्णय गरेपछि रोकिएर अलपत्र परेको छ, यस्ता कुरामा अदालतको ध्यान किन पुग्दैन ? आन्दोलनबाट प्रभावित भएर फैसला हुने गरेको अवस्था छ। सर्वोच्चको झ्यालबाट हेर्ने र जुलुस हेरेर पनि फैसला हुने गरेको छ।
सांसद शर्माले तल्लो तहका नागरिकलाई आफ्नो तहका प्रमाणहरू बनाउन गाह्रो रहेको भन्दै कागजी प्रमाणलाई मात्रै हेर्दा धेरै अन्याय भएको उल्लेख गरे। उनले यसलाई सुधार गर्न आवश्यक रहेको बताए। जान्नेले कागजी प्रमाण बनाउने गरेको भन्दै उनले नजान्नेहरू अन्यायमा नपरुन् भन्ने कुरामा प्रस्तावित प्रधानन्यायाधीश राउतको ध्यानाकर्षण गराए।
उनले भने,‘कतिपय अवस्थामा सरकारले रणनीति महत्त्वका निर्णय गर्नुपर्ने हुन्छ, त्यसको मर्म अदालतले किन बुझ्दैन ? समयमा निर्णय नगर्ने, पन्छाइदिने गरेको छ, जसले राज्यलाई ठुलो घाटा लाग्ने गरेको छ।’