धनगढीः कञ्चनपुरमा एकैदिन ३७ जुवाडे पक्राउ परेका छन्। छुट्टाछुट्टै दुई स्थानमा प्रहरीले बुधबार राति छापा हान्दा ३७ जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बिहीबार विहान जारी गरेको बुलेटिनअनुसार बेलौरी नगरपालिकाबाट २७ र कृष्णपुर नगरपालिकाबाट १० जना गरी ३७ जना पक्राउ परेका हुन्।
बेलौरी नगरपालिका–५ शोभा तालस्थित शंकर चौधरीले अधिया गरी बसेको चामु चौधरीको बाझो घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका हुन्। लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरीसहित २७ जनालाई त्रफाउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ५१ हजार एक सय २८ नगद पनि बरामद गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
यस्तै, कृष्णपुर नगरपालिका–४ का प्रकाश ऐरकोमा जुवातास खेलिरहेको अवस्थामा वडा नम्बर ५ का ३५ वर्षीय दिलबहादुर चौधरीसहित १० जनालाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट एक लाख २७ हजार नौं सय ७२ रुपैयाँ नगद पनि बरामद गरिएको छ।