धनगढीः नेपालीलाई आफ्नै देश फर्किदा सास्ती हुन थालेको छ। पश्चिमी सीमा नाका क्षेत्र भएर भारतबाट नेपाल फर्किने नेपालीहरुलाई सास्ती भइरहेको हो। सशस्त्र प्रहरी बलले आवश्यक सहजीकरण नगर्दा गड्डाचौकी र गौरिफन्टामा समस्या भएको स्वदेश फर्किनेहरुको गुनासो छ।
कैलालीको गौरीफन्टा नाकामा चेकजाँचका नाममा भारतीय सुरक्षाकर्मीबाट सुरु हुने अनावश्यक सास्तीलाई आफ्नै भूमिमा नेपाली सुरक्षाकर्मीले पनि निरन्तरता दिने गरेका छन्।
सुर्खेतको चौकुने गाउँपालिकाका काशीराम सोनी श्रीमती र छोरीसँगै दशैँ मनाउन भारतको गुजरातबाट घर फर्किंरहेका थिए। बुधबार बिहान गौरीफन्टा नाकामा उत्रिएका सोनी सुर्खेत जाने गाडीको खोजीमा थिए। सीमा नाकामा भारतीयदेखि नेपाली सुरक्षाकर्मीले दिएको दुःख सम्झँदा सोनी दम्पती दुखी थियो।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीका रमेश चौधरीले पनि सुरक्षाकर्मीले सास्ती दिएको बताए।राजस्थानबाट घर फर्किएका गोदावरी नगरपालिका–२ शान्ति टोलका शेरबहादुर धामीले चेकजाँचका नाममा सुरक्षाकर्मीले अनावश्यक दुःख दिने पुरानो समस्या उस्तै रहेको बताउँछन्। सीमा नाकामा चेकजाँचमा कडाइ गर्नु राम्रो कुरा भए पनि सुरक्षाभन्दा पैसा असुल्ने उद्देश्य राखेर दुःख दिने गरेको धामीको अनुभव छ।
डोटीको दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर भुलले पनि दशैंका बेला नाकामा सास्ती खेप्नुपरेको सुनाए। यता, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि सीमा नाकामा विभिन्न बाहानामा यात्रुहरूलाई दुःख दिने, ठग्ने जस्ता कार्य गरेको पाइएमा कारबाही गरिने बताए।
यस्तै उता गड्डाचौकीमा पनि सुरक्षा तथा चेकजाँच व्यवस्थापन निकै फितलो भएको बताइएको छ। नेपालीहरु सीमामा लुटिनेदेखि कुटिनेसम्मका घटना सार्वजनिक भैरहेको बेला सीमा सुरक्षा बल सशस्त्र भने प्रभावकारी रुपमा सक्रिय नभएको बताइएको छ।