धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देखतभुलीमा आयोजित प्रथम डीवाईएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका-७ ले हात पारेको छ।
शनिबार भएको फाइनल खेलमा आयोजक देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि चुमेको हो। ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले ७ ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको हो।
उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
विजेता र उपविजेतालाई एक कार्यक्रमबीच एमालेका प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काले पुरस्कार प्रदान गरेका थिए।
लालझाडी गाउँपालिका- ५ वडासँगको सहकार्यमा देखतभुली युवा समाजले आयोजना गरेको प्रतियोगितामा १४ टीमको सहभागिता थियो।
समाजका अध्यक्ष प्रेमसिंह धामीले पछिल्लो पटक नेपाली क्रिकेट टीमको प्रदर्शन उत्कृष्ट रहेका बेला गाउँघरमा पनि क्रेज बढेकाले नयाँ खेलाडी उत्पादनमा सहयोग होस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए।