काठमाडौं – जेठ १० गतेदेखि अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो । स्थानीय लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम म्याद जेठ २४ सम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटलले गर्नेछ ।
स्थानीय बासिन्दाले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । साथै, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।