काठमाडौँ: नेपाल प्रहरीका एसपी नवराज कार्कीलाई सुदूरपश्चिम पठाइएको छ। उनलाई हेडक्वाटर नक्सालले प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम धनगढी पठाइएको हो।
उनी आज धनगढी आइपुगेको स्रोतको भनाई छ। कार्की उनै एसपी हुन्, जो केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय मोरङबाट कारबाहीस्वरुप तानिएका थिए।
प्रहरी प्रधान कार्यालयले उनलाई तानेर त्यहाँ एसपी नारायण प्रसाद चिमोरियालाई पठाएको थियो।
अहिले उनै कार्कीलाई सुदूरपश्चिम पठाइएको हो। जबकी उनी छानबिनको दायरामा तानिएका थिए। उनीमाथि आर्थिक अनियमितताको आरोपमा छानबिन जारी छ। आर्थिक अनियमितताको विवाद आएपछि उनलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो।
२०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका थिए। उनले क्रिप्टोकरेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ। क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेको आरोप छ।
सोही विषयको छानबिनमा परेर केही घुमुवासहित इन्सपेक्टर पनि तानिएका थिए। जसमा एसपी कार्की सहितले क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाउने गिरोहसँग पैसा असुल्ने गरेको प्रमाण भेटिए जागिर जाने सम्भावनासमेत छ।
र, यो पनि: एसपी कार्कीले २२ लाख घुस लिएको इन्सपेक्टरको बयान, त्यसपछि हेडक्वाटर चलान