काठमाडौं: सुदूरपश्चिममा लागूऔषधतर्फ नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन सफतापूर्वक सम्पन्न गरेको छ। आज (मंगलबार) प्रदेशको कञ्चनपुर जिल्लास्थित पुनर्वास नगरपालिका-३ बजार क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित कारोबारी समातेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा डीआईजी रविन्द्र केसीले आज बेलुका सो क्षेत्रमा ठूलो मात्रामा ब्राउन सुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगरबाट खटिएको सिनियर सब-इन्सपेक्टर केशव जोशी र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले सो अपरेसन चलाएको हो।
विशेष सुराकीका आधारमा थालिएको अपरेसनमा २ ड्रग्स कारोबारी समातिएका छन्। समातिनेमा पर्सा घर भएर धनगढी बस्छु भनी बताउने अमित कुमार र बेलौरीकी सीता देबी चौधरी रहेका छन्।
उनीहरूबाट प्रहरी टोलीले ११८ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ। अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।